रविको प्रस्ताव : बितेको ३५ वर्षको हिसाब छाडौँ, अबको ३५ वर्षको योजना बनाऔँ

काठमाडौं, ७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना दलले बितेका ३५ वर्षमा के गरे भनेर हिसाब खोजिरहनुभन्दा अबको ३५ वर्षमा देशलाई कस्तो बनाउने भन्ने योजना बनाउनुपर्ने बताएका छन् ।

‘नीति, संगठन र नेतृत्व’ सम्बन्धी दुईदिने कार्यशालामा बोल्दै लामिछानेले पार्टीका सांसद तथा नेता–कार्यकर्तालाई विगतको आलोचनामा अल्झिनुभन्दा भविष्यको योजना बनाउनतिर लाग्न आग्रह गरेका हुन् ।

‘अब ३५ वर्षको हिसाब मागेर नबसौँ साथी हो । ३५ वर्षको योजना ल्याउनुहोस्,’ उनले भने, ‘बितेको ३५ वर्षका लागि उहाँहरूलाई कचकच गर्ने ठाउँमा छैनौँ । जति गर्नुभयो, धन्यवाद । अबको ३५ वर्ष कस्तो बनाउने भन्ने कुरा हाम्रो हातमा छ ।’

उनले पुराना राजनीतिक दल र नेतृत्वले गरेका कामको हिसाबकिताब खोजेर मात्र अबको राजनीति अघि बढ्न नसक्ने बताए । विगतको समीक्षा आवश्यक भए पनि त्यसैमा अल्झिएर बस्नुभन्दा आगामी पुस्ताले कस्तो देश पाउने भन्नेमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

लामिछानेले राज्यका संरचना र निकायले आफ्नो काम गरिरहे पनि राजनीतिक नेतृत्वको मुख्य जिम्मेवारी नागरिकले त्यसको प्रत्यक्ष लाभ पाइरहेका छन् कि छैनन् भन्ने हेर्नु रहेको बताए ।

उनले रास्वपाले आगामी दिनमा नीति, संगठन र नेतृत्वलाई बलियो बनाउँदै नागरिकको अपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिए ।

‘हामीले अब गुनासो गर्नेभन्दा परिणाम देखाउनेतिर ध्यान दिनुपर्छ,’ उनले भने, ‘देश कस्तो बनाउने भन्ने कुरा अरूको हातमा छ भनेर बस्ने होइन, हाम्रो हातमा भएको जिम्मेवारीबाट सुरु गर्नुपर्छ ।’