अमेरिका र इरानबीचको शान्ति वार्ता स्थगित

जेनेभा । संयुक्त राज्य अमेरिका र इरानबीच शुक्रबार स्विट्जरल्याण्डमा हुने भनिएको पहिलो चरणको ऐतिहासिक शान्ति वार्ता स्थगित भएको छ ।

लेबनानमा इजरायलले गरेको तीव्र आक्रमण र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आफ्नो स्विट्जरल्याण्ड भ्रमण रद्द गरेपछि युद्ध अन्त्य गर्ने प्रयासमा अन्योल छाएको हो ।

फेब्रुअरीको अन्त्यमा सुरु भएको द्वन्द्वलाई स्थायी रूपमा टुङ्ग्याउन दुई देशबीच केही दिनअघि मात्र एउटा अन्तरिम सम्झौता भएको थियो । सोही सम्झौताको जगमा ६० दिनको वार्ता प्रक्रिया सुरु गर्न शुक्रबार स्विट्जरल्याण्डको बुर्गेनस्टक रिसोर्टमा बैठक तय गरिएको थियो ।

स्विट्जरल्याण्डको विदेश मन्त्रालयले अमेरिका, इरान, कतार र पाकिस्तानबीचको प्रस्तावित वार्ता शुक्रबार नहुने पुष्टि गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘स्विट्जरल्याण्ड यी वार्ताहरूको सहजीकरणका लागि अझै तयार छ र बुर्गेनस्टकमा आवश्यक तयारीका कामहरू जारी छन् ।’

ह्वाइट हाउसले उपराष्ट्रपति भान्स तत्कालका लागि स्विट्जरल्याण्ड नजाने जानकारी दिएको छ। ह्वाइट हाउसका प्रवक्ताले प्राविधिक वार्ताका योजनाहरू अझै अन्तिम चरणमा पुगिनसकेको र वार्ताका लागि वैदेशिक व्यवस्थापन ९लजिस्टिक० सधैँ जटिल हुने बताएका छन् । यद्यपि, अमेरिका जतिसक्दो चाँडो वार्ता सुरु गर्न इच्छुक रहेको उनले बताए ।

यसैबीच, लेबनानको दक्षिणी क्षेत्रमा इजरायलले इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरी गरेको आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले सो भिडन्तमा आफ्ना चार सैनिक पनि मारिएको जनाएको छ । लेबनानमा इजरायली सैन्य कारबाही जारी रहेमा आफूहरूले शान्ति सम्झौता पालना नगर्ने चेतावनी इरानले दिएको छ ।

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘हतास’ भएर अन्तरिम सम्झौता गरेको टिप्पणी गरेका छन् । टेलिग्राममार्फत एक विज्ञप्ति जारी गर्दै उनले इरानले अमेरिकाको कुनै पनि ‘अत्यधिक र नाजायज’ माग स्वीकार नगर्ने स्पष्ट पारेका छन् । ‘भविष्यमा हुने वार्ताको अर्थ शत्रुको अडानलाई स्वीकार गर्नु होइन,’ उनले भनेका छन् ।

इजरायललाई यस शान्ति प्रक्रियामा सहभागी गराइएको छैन । लेबनानमा इजरायली आक्रमणको तीव्रताले भर्खरै सुरु भएको कूटनीतिक प्रयासलाई थप जोखिममा पारेको छ ।