क्रूर श्रीमानले श्रीमतीको हत्या प्रयास गरेलगत्तै आफूले पनि आत्महत्या गरे

काठमाडौं । झापामा एउटा क्रूर श्रीमानले श्रीमतीको हत्या प्रयास गरेलगत्तै आफूले पनि आत्महत्या गरेका छन् । बिर्तामोड नगरपालिका-५ अन्नपूर्ण चोक निवासी ७२ वर्षीय घिरेन राजवंशीले घरायसी विवादका क्रममा आफ्नी ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीको पेटमा फलामको रडले प्रहार गरेका थिए । घटनामा गम्भीर घाइते भएकी गंगामुनीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो।

धिरेनले श्रीमतीलाई रड प्रहार गरेलगत्तै आफैँ घरको तेस्रो तलाबाट हाम्फालेर आत्महत्या गरेका हुन् । शुक्रबार बिहान ५:३० बजेको समयमा आफ्नी श्रीमतीलाई फलामको रडले प्रहार गरी घाइते बनाए लगत्तै वृद्धले हाम्फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

श्रीमतीलाई घाइते बनाएपछि घिरेन घरको तीन तला माथिबाट हाम्फालेका थिए । हाम्फाल्दा उनको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको थियो। उनलाई पनि उपचारका लागि बिर्तासिटी अस्पताल पुर्‍याइएको थियो। उनको उपचारकै क्रममा बिहान ६:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते गंगामुनीको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।