काठमाडौं । नयाँ वर्षको अवसरमा काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सुरु भएको छ। काठमाडौं, ललितपुर, चन्द्रागिरि र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो सेवा रातिको आवागमनलाई सहज र सुरक्षित बनाउने उद्देश्यले सुरु गरिएको हो।
हाल सात वटा विद्युतीय बस सञ्चालनमा ल्याइएको छ, जसमा वाइफाइ, सिसीटिभी निगरानी र नगर प्रहरीको सुरक्षा व्यवस्था गरिएको छ। बसहरू निर्धारित रुटमा नियमित अन्तरालमा सञ्चालन हुने महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिएकी छन्।
पहिलो चरणमा लगनखेल–बुढानीलकण्ठ र थानकोट–एयरपोर्ट दुई मुख्य रुटमा सेवा सञ्चालन भइरहेको छ। लगनखेलदेखि विभिन्न अस्पताल हुँदै बुढानीलकण्ठसम्मको १६ किलोमिटर उत्तर–दक्षिण रुट र थानकोटदेखि कलंकी, माइतीघर हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको २० किलोमिटर पूर्व–पश्चिम रुट तय गरिएको छ।
रात्रिकालीन सेवा साझा यातायातसँगको सहकार्यमा सञ्चालन गरिएको हो। प्रारम्भिक चरणमा लागत साझा यातायातले व्यहोर्ने र आगामी दिनमा स्थानीय तहसँग साझेदारी मोडेलमा अघि बढाइने जनाइएको छ। बस सेवा राति ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। यसले रातिको सुरक्षित सार्वजनिक यातायातको अभाव कम गर्ने अपेक्षा गरिएको छ।
