काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सेवा प्रवाहलाई थप प्रभावकारी, छिटो र जवाफदेही बनाउन नयाँ कार्य आचारसंहिता लागू गरेको छ।
मन्त्रालय तथा मातहतका सबै निकायमा कार्यरत कर्मचारीका लागि लागू गरिएको नयाँ व्यवस्थाअनुसार अब कुनै पनि फाइल वा काम कर्मचारीको डेस्क वा प्रणालीमा पुगेपछि सोही दिन, सम्भव नभए अर्को दिनभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ।
मन्त्रालयका सहसचिव सुवासचन्द्र शिवाकोटीका अनुसार कर्मचारीलाई सुम्पिएको जिम्मेवारी छिटो, छरितो र गुणस्तरीय ढङ्गले सम्पन्न गराउने तथा सेवा प्रवाहलाई थप जिम्मेवार बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो।
नयाँ नीतिअनुसार तोकिएको समयभित्र काम सम्पन्न हुन नसकेको अवस्थामा सम्बन्धित कर्मचारीले कारणसहित तत्काल आफ्नो सुपरिवेक्षकलाई जानकारी गराउनुपर्नेछ।
यसैगरी, आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि कर्मचारीहरूबाट प्रतिवद्धतापत्रमा हस्ताक्षर गराउने व्यवस्था गरिएको छ। यसको कार्यान्वयन सुनिश्चित गर्ने जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले स्रोतसाधनको प्रयोगमा मितव्ययीता अपनाउन मातहतका निकायलाई निर्देशन समेत दिएको छ।
