काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाबीचको सन्तुलन खल्बल्याउने प्रयास गरिरहेको आरोप लगाउँदै युवाहरूलाई अधिनायकवादविरुद्ध संगठित भएर आन्दोलनमा उत्रिन आह्वान गरेका छन्।
३३औँ मदन–आश्रित स्मृति दिवस का अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सत्तारुढ दल र सरकारबाटै प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुन नपर्ने खालको परिपाटी विकास गर्न खोजिएको आरोप लगाए।
उनले सरकारले सर्वोच्च अदालतको नेतृत्व ‘गोजीबाट निकाल्ने’ प्रयास गरिरहेको टिप्पणी समेत गरे। महासचिव पोखरेलले पपुलिज्मको आवरणमा अधिनायकवाद हुर्किरहेको दाबी गर्दै त्यसको प्रतिवादका लागि युवाहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।
