गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष राजीनामा बुझाएका हुन्।

पछिल्लो समय शेयर कारोबारसम्बन्धी विवादमा नाम जोडिएपछि उनीमाथि विभिन्न प्रश्न उठिरहेका थिए। सोही विषयलाई मध्यनजर गर्दै गुरुङले पदमा बसिरहँदा निष्पक्ष छानबिनमा असर पर्न सक्ने भन्दै राजीनामा दिएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक प्रतिक्रिया दिँदै उनले नागरिकस्तरबाट उठेका प्रश्न, टिप्पणी र चासोलाई गम्भीर रूपमा लिएको उल्लेख गरेका छन्। “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,” उनले लेखेका छन्। उनले आफू सम्बद्ध विषयमा निष्पक्ष अनुसन्धानको बाटो खुला गर्न राजीनामा दिएको स्पष्ट पारे।

गुरुङले स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्टरेस्ट) नहोस् भन्ने उद्देश्यले यस्तो निर्णय लिएको बताएका छन्। साथै, सार्वजनिक जीवनमा पारदर्शिता र उत्तरदायित्व आवश्यक रहेको उनको भनाइ छ।

यसअघि कार्यभार सम्हालेको प्रारम्भिक चरणमै केही उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरी चर्चा कमाएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा परेका थिए।

राजीनामा बुझाउनुअघि उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग समेत छलफल गरेका थिए। त्यसपछि उनले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका हुन्।