समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिनभित्र ऋण चुक्ता गर्न निर्देशन

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाका ऋणीहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्न निर्देशन दिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ले मंगलबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।
मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार पटक–पटक जानकारी गराउँदा पनि ऋण नतिरेपछि अन्तिम सूचना जारी गरिएको हो। सूचनामा उल्लेख भएअनुसार, ऋणीहरूले प्रकाशन मितिले १५ दिनभित्र काठमाडौंको बुद्धनगर स्थित कार्यालयमा सम्पर्क गरी आफ्नो बाँकी साँवा, ब्याज तथा हर्जाना बुझाउनुपर्नेछ।

तोकिएको अवधिभित्र ऋण नतिरेमा ऋणी तथा जमानीको सम्पत्ति र बैंक खाता रोक्का गरिने, नाम सार्वजनिक गरिने र सार्वजनिक सेवा सुविधा समेत रोक्का गर्न सम्बन्धित निकायमा सिफारिस गरिने चेतावनी दिइएको छ।
यस्तै, कर्जा लिँदा राखिएको धितो लिलाम गरी बाँकी रकम असुल गर्ने प्रक्रिया अघि बढाइने पनि सूचनामा उल्लेख छ। सरकारले सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ अनुसार आवश्यक कारबाही गरिने जनाएको छ।