निर्वाचित अधिनायकत्वतर्फ मुलुक अघि बढ्दैछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवाली ले मुलुक निर्वाचित अधिनायकत्वतर्फ अगाडि बढ्न खोजिरहेको टिप्पणी गरेका छन्। ३३औँ मदन–आश्रित स्मृति दिवस का अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा बोल्दै नेता ज्ञवालीले मुलुकको राष्ट्रिय राजनीति अफ्ठ्यारो मोडतर्फ गइरहेको भन्दै लोकतान्त्रिक र प्रगतिशील प्रतिपक्षको आवश्यकता रहेको बताएका हुन्।

उनले सरकार बनेको करिब ५० दिन नपुग्दै लोकतान्त्रिक मूल्य र संस्थामाथि गम्भीर प्रश्न उठ्न थालेको दाबी गरे। ट्रेड युनियन तथा स्ववियु खारेज गर्ने प्रयास, अध्यादेशमार्फत शासन चलाउने दुष्प्रयास तथा सुकुम्बासीमाथिको ‘डोजर आतंक’ ले मुलुक निर्वाचित अधिनायकत्वतर्फ उन्मुख भइरहेको उनको भनाइ थियो।

नेता ज्ञवालीले सरकारले संसद्, राष्ट्रपति तथा संवैधानिक आयोगहरूको अवमूल्यन गरिरहेको आरोप समेत लगाए।

उनले संसद्मा एमालेको उपस्थिति तुलनात्मक रूपमा कमजोर भए पनि संविधानको रक्षा, लोकतान्त्रिक मूल्यको संरक्षण तथा सामाजिक न्यायसहित मुलुकलाई सही दिशामा अघि बढाउन जनता, सञ्चारकर्मी र सामाजिक संघसंस्थाको महत्वपूर्ण भूमिका रहने बताए।