काठमाडौं । पूर्णबहादुर खड्कालाई पार्टी अनुशासन उल्लंघन गरेको भन्दै ७ दिनभित्र स्पष्टीकरण दिन नेपाली कांग्रेस को अनुशासन समितिले निर्देशन दिएको छ ।
बुधबार बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले खड्काले पार्टीको विधानविपरीत कार्य गरेको ठहर गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
समितिका अनुसार खड्काले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी आफूलाई नभएको जिम्मेवारी उल्लेख गर्दै अनधिकृत प्रेस वक्तव्य जारी गरेको पाइएको छ । यसअघि पनि उनले यस्तै प्रकृतिको वक्तव्य जारी गरेको भन्दै उनलाई एक पटकका लागि सचेत गराइएको थियो ।
तर सचेत गराइएपछि पनि पुनः २०८२ चैत ३० गते नक्कली लेटरप्याड प्रयोग गरी आफू पदमै रहेको दाबी गर्दै विज्ञप्ति जारी गरेको समितिको आरोप छ ।
समितिले उक्त कार्य पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) अनुसार अनुशासन उल्लंघन भएको जनाएको छ ।
यसैबीच, समितिले प्रतिनिधि सभा निर्वाचन २०८२ सन्दर्भमा परेका अनुशासनसम्बन्धी उजुरीको म्याद पनि थप गरेको छ । अब उजुरी २०८३ वैशाख मसान्तसम्म दिन सकिने व्यवस्था गरिएको छ भने त्यसपछि प्राप्त हुने उजुरीमाथि कारबाही नहुने स्पष्ट गरिएको छ ।
कांग्रेसले निर्वाचनका क्रममा भएका सम्भावित अन्तर्घात र अनुशासनहीन गतिविधिबारे छानबिन प्रक्रिया थप सक्रिय बनाएको जनाएको छ ।

