काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाअनुसारको परिणाम आउन नसक्नुको कारण पार्टीभित्रकै नेतृत्व तह र स्थानीय संरचनाको कमजोरी भएको निष्कर्ष निकालेको छ। वैशाख १० गते बसेको प्रदेश कमिटी अध्यक्षहरू सम्मिलित समन्वय तथा परामर्श बैठकमा सो विषयमा विस्तृत छलफल भएको हो।
महासचिव शंकर पोखरेलले तल्लो तहका कमिटीहरूलाई पठाएको ८ बुँदे निर्देशनअनुसार निर्वाचन परिणाम कमजोर आउनुमा पार्टीका विभिन्न तहका नेताहरूको भूमिकासमेत जिम्मेवार रहेको उल्लेख गरिएको छ। बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिनु अनुशासनविपरीत भएको भन्दै त्यसो नगर्न कडा निर्देशन दिएको छ।
निर्देशनमा पार्टीको विधि, पद्धति र अनुशासनको पालना गर्नुपर्नेमा जोड दिँदै सामाजिक सञ्जाल वा सार्वजनिक स्थलमा नेतृत्व, नीति र निर्णयविरुद्ध टिप्पणी नगरी पार्टीका आधिकारिक कमिटीभित्रै आफ्ना धारणा राख्न आग्रह गरिएको छ।
त्यसैगरी, प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाभन्दा कम मत प्राप्त भएका क्षेत्र, पालिका र वडाहरूमा सदस्यता वितरण प्रणालीलाई अझ कडाइका साथ लागू गर्ने निर्णय गरिएको छ। यस्ता क्षेत्रमा आवश्यकता अनुसार सदस्यता नवीकरण सहजीकरण टोली गठन गरी परिचालन गर्न सकिने पनि निर्देशनमा उल्लेख छ।
पार्टीले संगठन सुदृढीकरण, अनुशासन कायम राख्ने र आगामी निर्वाचनमा राम्रो नतिजा ल्याउने उद्देश्यसहित यी निर्णयहरू कार्यान्वयन गर्न तल्लो तहका कमिटीहरूलाई निर्देशन दिएको छ।
