दाङ । दाङमा जन्मे–हुर्केकी लेखक लीला शर्मा ‘अस्मिता’को संस्मरणात्मक पुस्तक ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ बजारमा आएको छ ।
आफ्नो जीवनका दुई फरक तर कठिन संघर्ष—सशस्त्र द्वन्द्व र क्यान्सरलाई केन्द्रमा राखेर लेखिएको पुस्तक शनिबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो । लेखक शर्माले आफ्नै जीवनयात्रासँग जोडिएको दाङको घोराहीमा कार्यक्रमको आयोजना गरी पुस्तक सार्वजनिक गरेकी हुन् ।
देउखुरीको धैरेनीबाट करिब ३० वर्षअघि घोराहीमा कलेज पढ्न आउँदा चिठी पु¥याउने बहानामा आफू माओवादी आन्दोलनमा जोडिन पुगेको स्मरण गर्दै शर्माले आफ्नो जीवनको बाटो मोडिएको ठाउँमै पुस्तक लोकार्पण गर्ने निर्णय गरेको बताइन् ।
‘जहाँबाट आफ्नो बाटो मोडियो, त्यहीँ आइपुगेकी छु,’ शर्माले भनिन्, ‘यी दौरानमा दुईवटा लडाइँ लडियो—एउटा युद्ध र अर्को क्यान्सर । जे देखेँ, जे भोगेँ, त्यही लेखेकी छु ।’
शर्माका अनुसार द्वन्द्वकालमा उनले नियमित रूपमा डायरी लेख्ने गर्थिन् । अहिले पनि आफ्ना धेरै डायरी सुरक्षित रहेको बताउँदै उनले आफ्नै कथा आफैँ लेख्नुपर्छ भन्ने लागेर पुस्तक तयार पारेको बताइन् ।
‘युद्धकालभरि म धेरै डायरी लेख्थेँ । अझै धेरै डायरी जोगाएर राखेकी छु,’ उनले भनिन्, ‘आफ्नो कथा आफैँ लेख्नुपर्छ भन्ने लागेर पुस्तक लेखेकी हुँ ।’
‘दाङबाट बलियो लेखकको जन्म भयो’
लोकार्पण कार्यक्रममा ९६ वर्षीय अग्रज पत्रकार तथा लेखक नारायणप्रसाद शर्माको उपस्थिति र मन्तव्य विशेष चर्चामा रह्यो ।

दाङबाट प्रकाशित हुने ‘नयाँ युगबोध’ दैनिकसँग लामो समयदेखि जोडिएका शर्माले लीलाको पुस्तकले आफूलाई नयाँ अनुभूति गराएको बताए । उनले दाङबाट एउटा बलियो लेखकको जन्म भएको टिप्पणी गरे ।
समालोचक तथा कवि अमर गिरीले पुस्तकमा माओवादी विद्रोहको एकपक्षीय चित्रणभन्दा पनि लेखकले आफूले भोगेको यथार्थलाई प्रस्तुत गरेको बताए ।
आफूले माओवादी विद्रोहसँग सम्बन्धित धेरै पुस्तक पढेको उल्लेख गर्दै गिरीले त्यस्ता पुस्तकलाई मोटामोटी तीन प्रकारमा वर्गीकरण गर्न सकिने बताए । उनका अनुसार केही पुस्तकले विद्रोहको अँध्यारो पक्षलाई मात्र प्रस्तुत गरेका छन् भने केहीले उज्यालो पक्षलाई मात्र । तेस्रो प्रकारका पुस्तकले भने घटनाका उज्याला र अँध्यारा दुवै पक्षलाई समेट्ने प्रयास गरेका छन् ।
गिरीले शर्माको पुस्तकलाई यही यथार्थ पक्ष प्रस्तुत गर्ने पठनीय संस्मरणका रूपमा व्याख्या गरे ।
‘किताबले चुम्बकझैँ तान्यो’
दाङमा २०१० सालमै स्थापना भएको सर्वोदय पुस्तकालयका अध्यक्ष तथा पठन संस्कृति प्रवद्र्धक सुशील गौतमले पुस्तकले आफूलाई सुरुदेखि नै आकर्षित गरेको बताए ।
‘हिजो मात्र आफूले प्राप्त गरेको पुस्तक केही पाना पढ्छु भनेर साँझमा सुरु गरेको थिएँ,’ गौतमले भने, ‘तर किताबले यस्तरी तान्यो कि अहिले बिहानसम्म मैले लगभग पूरै पढिसकेँ ।’
उनको भनाइमा पुस्तकले पाठकलाई लेखकको व्यक्तिगत जीवन र तत्कालीन राजनीतिक परिवेशसँगै अघि बढाउने क्षमता राख्छ ।
नेपाल पत्रकार महासंघ दाङको सभाहलमा आयोजित कार्यक्रममा करिब दुई सय जनाको सहभागिता थियो ।
लेखक लीला शर्मासहित अग्रज पत्रकार तथा लेखक नारायणप्रसाद शर्मा, समालोचक तथा कवि अमर गिरी, सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतम र नेपालयका सम्पादक विमल आचार्यले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका थिए ।
पब्लिकेसन नेपालयले प्रकाशन गरेको पुस्तक २३६ पृष्ठको छ । पुस्तकको मूल्य ५७५ रुपैयाँ निर्धारण गरिएको छ ।
पुस्तक आजदेखि देशभरका प्रमुख पुस्तक पसलमा उपलब्ध छ । थुप्रैडटकम र अमेजनमार्फत पनि पुस्तक अनलाइन खरिद गर्न सकिनेछ ।
‘युद्ध लडेँ, क्यान्सर जितेँ’ केवल द्वन्द्वकालीन राजनीतिक अनुभवको संस्मरण मात्र नभई लेखक शर्माले आफ्नो जीवनमा भोगेका दुई फरक संघर्षलाई एउटै कथामा जोडेर प्रस्तुत गरेको पुस्तकका रूपमा सार्वजनिक भएको छ ।
