रास्वपाले ‘राइट टु रिकल’ को अवधारणा अघि बढाउने

काठमाडौँ, ४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ को अवधारणालाई अघि बढाउने भएको छ । जनप्रतिनिधिलाई मतदाताप्रति जवाफदेही र उत्तरदायी बनाउने संयन्त्रका रूपमा यो व्यवस्था आवश्यक रहेको रास्वपाको भनाई छ ।

रास्वपाको ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण समितिको पहिलो बैठक आज आइतबार पार्टी केन्द्रीय कार्यालयमा महामन्त्री तथा समिति संयोजक विपिनकुमार आचार्यको अध्यक्षतामा बसेको थियो ।

बैठकले ‘राइट टु रिकल’सम्बन्धी बहसलाई थप विस्तार गर्दै त्यससम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा छलफल गरेको रास्वपाले जनाएको छ ।

पार्टीका अनुसार यस अवधारणाले निर्वाचित जनप्रतिनिधिलाई मतदाताप्रति थप उत्तरदायी बनाउने तथा लोकतान्त्रिक निर्वाचन प्रणालीप्रति मतदाताको विश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

बैठकले समितिको सचिवमा मनिष खनाललाई जिम्मेवारी दिएको छ । त्यस्तै, समितिअन्तर्गत चारवटा विषयगत उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

संवैधानिक तथा सम्बन्धित कानुनी प्रावधान अध्ययन उपसमितिको जिम्मेवारी सुलभ खरेल र गजला शमिम मिकरानीलाई दिइएको छ ।

अन्तर्राष्ट्रिय प्रचलित अभ्यास अध्ययन उपसमितिमा अनुष्का श्रेष्ठ, सरोकारवालासँगको छलफल समन्वय उपसमितिमा समीक्षा बास्कोटा र करिस्मा कठरिया तथा सञ्चार तथा मिडिया समन्वय उपसमितिमा प्रमोद न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।