लघुकथा : ‘ट्रेन्डिङ’मा न्याय

अस्पतालको प्रसूति कक्षाबाहिर भीड थियो ।

कसैको हातमा मोबाइल थियो, कसैको हातमा नारा ।

“बबितालाई न्याय चाहिन्छ !”

नारा चर्किँदै गयो । पत्रकारहरू आए । क्यामेरा तेर्सिए । सामाजिक सञ्जालमा पोस्टहरू भरिन थाले ।

एकाएक एउटा तस्बिर भाइरल भयो ।

तस्बिरमा एउटी महिला प्रसव पीडामा थिइन् । अनुहार स्पष्ट थिएन, तर उनको शरीरको त्यो अत्यन्त निजी अवस्था स्पष्ट देखिन्थ्यो । सीसीटीभीबाट निकालिएको स्क्रिनसट जुम गरेर पोस्ट गरिएको थियो ।

तल लेखिएको थियो—

“हेर्नुस्, एउटी आमाले कस्तो पीडा भोगिन् ! न्याय चाहिन्छ !”

हजारौँले सेयर गरे ।

कसैले लेख्यो—“मानवता मरिसक्यो ।”

कसैले लेख्यो—“यस्ता अस्पताललाई कारबाही हुनुपर्छ ।”

कसैले आँसुको इमोजी राख्यो ।

त्यो तस्बिरभित्रकी महिला भने आफ्नै शरीरभन्दा ठूलो पीडासँग लडिरहेकी थिइन् ।

उनकी छोरीले मोबाइलमा तस्बिर देखी ।

“आमा ”

आमाले कमजोर आँखाले हेरिन् ।

“के भयो ?”

ऋचा लुइटेल 

छोरीले मोबाइल बन्द गरिदिई ।

“केही होइन ।”

त्यो रात उसले आमालाई सोध्न सकिन—“तपाईंको सबैभन्दा निजी क्षण संसारभरि किन देखाइयो ?”

भोलिपल्ट पत्रकार सम्मेलन भयो ।

एक पत्रकारले क्यामेरातिर हेर्दै गम्भीर स्वरमा भन्यो—“पीडित महिलाको गोपनीयता र मर्यादा हाम्रो पहिलो जिम्मेवारी हो । यस्ता संवेदनशील तस्बिर सार्वजनिक गर्नु हुँदैन ।”

क्यामेरा बन्द भयो ।

उसले मोबाइल निकाल्यो ।

अर्को पत्रकारलाई त्यही तस्बिर पठाउँदै भन्यो— “क्रप गरेर हाल । अनुहार नदेखिए पुग्छ । आजको हेडलाइन यही हो ।”

“तर यो त महिलाको निजी क्षण हो नि !”

ऊ मुस्कुरायो ।

“निजी क्षण ? हाम्रो लागि त ‘कन्टेन्ट’ हो ।”

केही मिनेटपछि उसको फेसबुकमा पोस्ट आयो— “महिलाको शरीरलाई सनसनीको सामग्री नबनाऔँ । पत्रकारिता संवेदनशील हुनुपर्छ ।”

पोस्ट भाइरल भयो ।

सयौँले लेखे—

“सलाम पत्रकारितालाई !”

“यही हो जिम्मेवार पत्रकारिता !”

“महिलाको सम्मान गर्न सिकौँ !”

उता, त्यही पोस्ट लेख्ने पत्रकारको मोबाइलमा भने—त्यही महिलाको तस्बिरबाट बनेको अर्को ‘एक्सक्ल्यूसिभ’ भिडियो अपलोड हुँदै थियो ।

उसले स्क्रिनमा हेर्‍यो ।

भ्यु बढ्दै थियो ।

१० हजार, ५० हजार, १ लाख……

उसको अनुहारमा सन्तुष्टि फैलियो ।

त्यही बेला बबिताकी छोरीले त्यो भिडियो भेट्टाई ।

उसले कमेन्ट बक्समा केही लेख्न खोजी ।

फेरि रोकिई ।

आमाको अनुहार हेरी ।

र मोबाइलमा एउटा मात्र वाक्य टाइप गरी—“अंकल, तपाईंले आज मेरी आमाको लाज बेचेर पत्रकारिता बचाउनुभयो कि पत्रकारिता बेचेर आफ्नो भ्यु बचाउनुभयो ?”

उसले ‘पोस्ट’ थिची ।

तर कमेन्ट पोस्ट हुनुअघि नै हटाइयो ।

कारण लेखिएको थियो—“कम्युनिटी गाइडलाइन उल्लङ्घन ।”

छोरी केहीबेर मोबाइल हेरेर बसिरही ।

बाहिर पत्रकारहरू फेरि चिच्याइरहेका थिए—

“महिलाको सम्मान गरौँ !”

र अस्पतालको भित्ताभित्र,

एउटी महिला आफ्नो शरीर छोपेर सुतिरहेकी थिइन् ।

बाहिर उनको न्याय ट्रेन्डिङमा थियो ।