काठमाडौं, ४ असोज । जेनजी आन्दोलनका क्रममा गत वर्ष भदौ २४ गते आगजनीबाट तहसनहस भएको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर भोलि सोमबारबाट सञ्चालनमा आउने भएको छ ।
भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि औपचारिक रूपमा ग्राहकका लागि खुला गरिनेछ ।
आगजनीबाट ठूलो क्षति पुगेको स्टोरको पुनर्निर्माण सम्पन्न भएपछि पुनः सञ्चालनमा ल्याउन लागिएको हो ।
आगजनीबाट क्षतिग्रस्त भएका १२ स्टोरमध्ये टंगालसहित १० वटा स्टोर पुनः सञ्चालनमा आइसकेका छन् । बाँकी दमक र हेटौंडास्थित स्टोरको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

ती दुवै स्टोरसमेत छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङले कठिन परिस्थितिबीच पुनर्निर्माणमा सहयोग गर्ने ग्राहक, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।
आगजनीबाट स्टोरहरूमा ठूलो क्षति पुगे पनि त्यसलाई चुनौतीका रूपमा लिएर पुनः सञ्चालन गर्ने लक्ष्यका साथ अघि बढेको उनले बताएका छन् ।
आन्दोलन क्रममा ठूलो भौतिक क्षति भए पनि कम्पनीले आफ्ना १० हजारभन्दा बढी कर्मचारीको रोजगारीलाई निरन्तरता दिएको जनाएको छ।
कठिन अवस्थामा समेत कर्मचारीलाई सेवाबाट अलग नगरिएको र गत वर्षको दसैं बोनससमेत कटौती नगरिएको कम्पनीको भनाइ छ।
‘हामीले कर्मचारीलाई रोजगारीबाट अलग गरेनौं । गत वर्षको दसैं बोनससमेत कटौती नगरी उनीहरूको रोजगारीलाई निरन्तरता दियौं,’ गुरूङले विज्ञप्तिमार्फत भनेका छन् ।
कम्पनीले पुनर्निर्माण क्रममा चौबीसै घन्टा खटिएका कर्मचारी तथा सहयोगीहरूप्रति पनि धन्यवाद व्यक्त गरेको छ ।

टंगाल स्टोर पुनः सञ्चालनमा आएसँगै ग्राहकलाई नियमित रूपमा आवश्यक वस्तु तथा सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ। साथै, आगामी दिनमा आधुनिक सुविधा, गुणस्तरीय सेवा र सहज किनमेलको वातावरण उपलब्ध गराउने प्रतिबद्धता पनि कम्पनीले दोहोर्याएको छ ।
पुनर्निर्माणमा साथ दिने ग्राहक, सहयोगी संस्था तथा शुभेच्छुक र प्रतिकूल परिस्थितिमा निरन्तर खटिएका कर्मचारीप्रति कम्पनीले विशेष आभार व्यक्त गरेको छ ।






तस्बिरः नेपाल फोटो लाइब्रेरी
