काठमाडौँ । भक्तपुरको मनोहरा खोला किनारमा बसोबास गर्दै आएका सुकुमबासीहरूको अनधिकृत बस्ती हटाउने काम आइतबार बिहानदेखि सुरु गरिएको छ। स्थानीय प्रशासनले ठूलो संख्यामा सुरक्षा बल परिचालन गर्दै घरटहरा भत्काउने प्रक्रिया अघि बढाएको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार बस्ती हटाउन करिब १,३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी खटिएका छन्। बासिन्दाहरूलाई बिहान ९ बजेसम्म आफैं घरटहरा हटाउन समय दिइएको थियो। त्यसपछि काठमाडौँ महानगरपालिकाको डोजरसहितको टोलीले संरचना भत्काउन सुरु गरेको हो।
प्रहरीका अनुसार अधिकांश बासिन्दाले सामान सारेर घर खाली गरिसकेपछि भत्काउने काम अघि बढाइएको छ। उक्त क्षेत्रमा करिब ७७७ घरटहरा रहेका छन्।
यसअघि शनिबार साँझ पनि सात वटा पक्की घर भत्काइएको थियो। सो क्रममा केही सुकुमबासीले अवरोध र आक्रमण गर्दा २२ जना सुरक्षाकर्मी घाइते भएका थिए।
प्रशासनले बस्ती हटाउने कार्यलाई निरन्तरता दिने जनाएको छ भने स्थानीय बासिन्दाको पुनर्स्थापनाबारे स्पष्ट योजना भने सार्वजनिक भएको छैन।
