काठमाडौँ । नेपाली कांग्रेस ले गृहमन्त्री सुधन गुरुङमाथि उठेका सम्पत्ति विवरणसम्बन्धी विवादका विषयमा तत्काल स्वतन्त्र अनुसन्धान गर्न माग गरेको छ। सोमबार विज्ञप्ति जारी गर्दै कांग्रेसले गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको जनाएको छ।
पार्टीका प्रवक्ता देवराज चालिसेको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, “सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो। त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ।”
कांग्रेसले सरकारसमक्ष गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त सुरु गर्न स्पष्ट माग गरेको छ।विज्ञप्तिमा थप भनिएको छ कि यस्तो विषयमा ढिलासुस्ती, प्रभाव वा ढाकछोप गर्ने प्रयासले सुशासन, राजनीतिक नैतिकता र जनविश्वासमा गम्भीर क्षति पुर्याउनेछ।
कांग्रेसले प्रकरणलाई गम्भीर रूपमा लिएर पारदर्शी अनुसन्धान सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ।

