नेपाली कांग्रेसका सभापति गगन थापाले राज्यका निकायहरूले गर्ने अनुसन्धान प्रक्रियामा सबैले सहयोग गर्नुपर्ने बताएका छन्। बागमती प्रदेश स्तरीय चुनावी समीक्षा कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको मूल मान्यता ‘रुल अफ ल’ (कानुनी शासन) लाई केन्द्रमा राखेर विषय उठाइरहेको स्पष्ट पारे।
थापाले प्रधानमन्त्री, पार्टी सभापति वा आफू स्वयं जो भए पनि राज्यका निकायले पर्याप्त आधार देखाएमा अनुसन्धान गर्नुपर्ने बताए। उनले भने, “राज्यले अनुसन्धान गर्छु भनेर भन्छ भने त्यसका आधारहरू भए सहयोग गर्नु प्रत्येक व्यक्तिको दायित्व हो।”
उनले अनुसन्धान प्रक्रिया ‘सेलेक्टिभ’ (छानेर गरिने) हुन नहुने भन्दै राज्य पनि कानुनभन्दा माथि हुन नसक्ने धारणा राखे। साथै उनले हाल सार्वजनिक भएको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन अपूर्ण र चयनात्मक भएको टिप्पणी गर्दै २४ गते भएको घटनाबारे पर्याप्त सम्बोधन नभएको दाबी गरे।
थापाले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने मागसमेत राखे। उनले कांग्रेसले सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने धारणा राख्दै आएको उल्लेख गरे।
“म मन्त्री भएको छु, मेरो पनि छानबिन होस्। तर प्रक्रिया कानुनसम्मत र निष्पक्ष हुनुपर्छ, व्यक्तिविशेष छानेर होइन,” उनले भने। साथै गलत तरिकाले आर्जित सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्नुपर्ने धारणा पनि व्यक्त गरे।
