सवारी साधनको विवरण अद्यावधिक गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय सरकारअन्तर्गतका सबै मन्त्रालयलाई आफ्ना निकायमा प्रयोगमा रहेका तथा मर्मत भइरहेका सवारी साधनहरूको विस्तृत विवरण पठाउन निर्देशन दिएको छ ।

मन्त्रालय तथा अन्तर्गतका विभाग र कार्यालयहरूले प्रयोगमा रहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरूको विवरण तोकिएको ढाँचामा तयार गरी कार्यालयमा उपलब्ध गराउन भनिएको हो ।

विवरणमा सवारी साधनको ब्रान्ड, मोडेल, इन्धन प्रकार (डिजेल/पेट्रोल/विद्युतीय), प्रयोगकर्ताको पद, सवारीको अवस्था लगायतका विवरण समेट्नुपर्ने उल्लेख छ ।

निर्देशअनुसार माग गरिएको विवरण मिति २०८३ वैशाख ३ गते कार्यालय समयभित्र उपलब्ध हुने गरी पठाउन भनिएको छ । यो निर्णय सचिवस्तरबाट २०८३ वैशाख २ गते गरिएको जनाइएको छ ।

कार्यालयले प्रशासनिक अभिलेख व्यवस्थापन तथा सवारी साधनको अद्यावधिक अवस्थाबारे एकीकृत तथ्यांक तयार गर्न विवरण संकलन गरिएको जनाएको छ ।