वैदेशिक रोजगारीका लागि स्थगित श्रम स्वीकृति पुनः सुचारु

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पश्चिम एसिया तथा खाडी क्षेत्रमा स्थगित गरिएको श्रम स्वीकृति पुनः सुचारु गर्ने निर्णय गरेको छ। बुधबार मन्त्रालयले सूचना जारी गर्दै यसबारे जानकारी दिएकाे हाे ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (मन्त्रिस्तर) को मिति गत फागुन १७ गतेको निर्णयअनुसार यसअघि स्थगित गरिएको इजरायल, कुवेत, बहराइन तथा लेवनन जाने नेपाली श्रमिकहरूको पुनः श्रम स्वीकृति कार्य सुचारु गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।
यसअघि मध्यपूर्व क्षेत्रमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति स्थगन गरिएको थियो। पछि क्रमशः साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, ओमान, यमन, जोर्डन तथा टर्की का लागि पुनः श्रम स्वीकृति सुचारु गरिएको थियो।

त्यसैगरी इराक जाने श्रमिकहरूको हकमा भने नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ पुस ११ गतेको निर्णय बमोजिम श्रम स्वीकृति प्रदान गरिने विभागले स्पष्ट पारेको छ।
मन्त्रालयले उक्त निर्णयबारे सम्बन्धित सबै निकाय, म्यानपावर कम्पनी तथा वैदेशिक रोजगारीमा जान इच्छुक श्रमिकहरूलाई जानकारी गराएको छ।