काठमाडौं । सरकारले पैसाको अभाव देखाउँदै निजी अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम कटौती गरेको छ।
विमा सेवामा वित्तिय संकट देखिएको भन्दै विमा बोर्डको जेठ ११ गते बसेको बैठकले निजी अस्पतालमा विमा कार्यक्रम कटौती गरेको हो। अब निजी अवस्पतामा आकस्मिक सेवामा मात्र विमाको सुविधा पाइने भएको छ।
अन्य सेवामा भने अब विमा सुविधा नपाइने बोर्डले बुधबार सूचना जारी गरेर जानकारी दिएको छ। ‘स्वास्थ्य विमा बोर्डको बढ्दो वित्तिय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म निजी अस्पतालबाट दिइँदै आइएको विमा कार्यक्रम आकास्मिकबाहेकमा स्थगित गरिएको छ’, सूचनामा भनिएको छ।
यो निर्णयसँगै सयौं निजी अस्पताल, मेडिकल कलेजबाट विमित नागरिकले पाउँदै आएको ओपिडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुने भएको छ।
नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याउने उदेश्यले विमा कार्यक्रम सञ्चालनमा ल्याएको भए अहिले यस कार्यक्रमले आर्थिक संकट व्यहोरिरहेको छ। सरकारी अस्पतालमासमेत विमाबापतको सेवा बेलाबेलामा बन्द हुने गरेको छ।
तर चर्को दबाबपछि सरकारले कार्यक्रम पुन:सुचारी गर्ने गरेको छ।
यता स्वास्थ्य विमा कार्यक्रम संकटतर्फ धकेलिरहेको समयमा सरकारले भने कर्मचारीको तलब वृद्धि गर्ने गरी तयारी गरेको छ ।
