स्वार्थ केन्द्रित वाम एकता मान्य हुँदैन : बिन्दा पाण्डे

काठमाडौं । बिन्दा पाण्डे ले व्यक्तिगत स्वार्थ नमिल्दा अलग भएका नेताहरूले पुनः वाम एकताको बहस उठाएको टिप्पणी गरेकी छन्।

नेपालको वाम आन्दोलनमा महिलाको उपलब्धि, चुनौती र अवसर विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले स्वार्थ केन्द्रित एकताको पक्षमा आफूहरू उभिन नहुने स्पष्ट पारिन्।

उनले विगतमा पटक–पटक संकटका बेला एकता गर्ने र फेरि स्वार्थ नमिल्दा फुट्ने प्रवृत्ति दोहोरिएको बताइन्। अहिले फेरि संसद्मा प्रमुख प्रतिपक्षको हैसियत गुमेपछि र नयाँ पुस्तामा विश्वास घटेपछि एकताको बहस उठाइएको उनको भनाइ छ।

पाण्डेले एकताको कुरा अघि बढाउनु अघि विगतमा किन एकता भंग भयो भन्ने विषयमा नेतृत्वले जवाफ दिनुपर्ने उल्लेख गरिन्। विचार र नीति भन्दा पनि नेताहरूको स्वार्थ नमिल्दा विभाजन भएको हो भने पुनः त्यही आधारमा हुने एकता स्वीकार्य नहुने उनको धारणा छ।

उनले आफूहरू एकताको पक्षमा रहेको स्पष्ट पार्दै हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरणको आधारमा वाम आन्दोलनलाई अघि बढाउनुपर्ने बताइन्। शीर्ष नेतृत्वबाट मात्र परिवर्तन सम्भव नदेखिएको उल्लेख गर्दै पुराना नेताहरूले अभिभावकत्व लिनुपर्ने उनको भनाइ छ।

साथै उनले वाम आन्दोलनलाई सुदृढ बनाउन युवा पुस्तालाई नेतृत्वमा अघि सार्नुपर्ने आवश्यकता औंल्याइन्।