जेनजी आन्दोलनमा षड्यन्त्र भएको एमाले महासचिव पोखरेलको दाबी

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा षड्यन्त्र भएको बताएका छन्। नेकपा स्थापना दिवसको अवसरमा बुधबार च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले भदौ २४ गते योजनाबद्ध रूपमा विध्वंस मच्चाइएको दाबी गरे। उनका अनुसार पार्टीले उठाएको उक्त धारणा जनतामाझ प्रभावकारी रूपमा स्थापित गर्न नसक्दा हालको राजनीतिक परिणाम आएको हो।

पोखरेलले निर्वाचनमा सफलता हासिल गर्ने पक्षलाई बधाई दिँदै जनादेशको सम्मान गरेको उल्लेख गरे। उनले भने, “जेनजी आन्दोलनमा षड्यन्त्र थियो र त्यहीँ आधारमा विध्वंस भयो भन्ने हाम्रो धारणा जनतामाझ स्थापित गर्न नसक्दा अहिलेको परिणाम आएको हो।”

उनले हाल सार्वजनिक भइरहेका घटनाक्रमहरूले एमालेले व्यक्त गरेका आशंकाहरू सही सावित हुँदै गएको दाबी पनि गरे। सुशासनको विषयमा उठेका प्रश्नहरूबारे बोल्दै उनले एमाले नेता तथा कार्यकर्ताको सम्पत्ति जाँच गर्नुपर्ने र वर्तमान सरकारका नेताहरूको सम्पत्तिमाथि पनि छानबिन हुनुपर्ने बताए।

पोखरेलले एमालेका नेता–कार्यकर्ता इमानदार रहेको तथ्यले देखाउने दाबी गर्दै पार्टीलाई गलत सूचना र प्रविधिको दुरुपयोगमार्फत बदनाम गर्ने प्रयास भएको आरोप लगाए।
उनका अनुसार जनमत प्रभावित पार्ने गतिविधिका कारण एमाले जनताबाट टाढिएको अवस्था बनेको छ।