एमालेको सचिवालय बैठक शुक्रबार सम्पन्न भएको छ। बैठक भोलि पुनः बस्ने गरी स्थगित गरिएको हो। झण्डै ६ घण्टा चलेको बैठकमा पार्टीका चार उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओली को राजीनामा माग गरेका छन्। उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त ले ओलीको नेतृत्वमाथि प्रश्न उठाउँदै राजीनामाको माग गरेका हुन्।
बैठकमा ओलीको राजीनामाको विषय उठेपछि नेताहरूबीच चर्काचर्कीसमेत भएको बताइएको छ। पाँच जना उपाध्यक्षहरूले धारणा राखेपछि शुक्रबारको बैठक टुंगिएको हो।
अध्यक्ष ओलीले सोमबारको बैठकमा नेताहरूको कार्य विभाजनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। सोही प्रस्तावमाथि नेताहरूले आ–आफ्नो धारणा राखिरहेका छन्।
उपमहासचिव लेखराज भट्ट का अनुसार सचिवालय बैठक शनिबार बिहान ११ः३० बजे पुनः बस्नेछ। बैठकमा सचिवालयका अन्य १२ सदस्यले पनि आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।
