मधेश सरकारमा फेरबदल, एमालेका मोहम्मद समिर मन्त्री नियुक्त

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेकपा (एमाले) का सांसद मोहम्मद समिरलाई मन्त्री नियुक्त गरेका छन्। उनलाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको हो।

मुख्यमन्त्री यादवले जनता समाजवादी पार्टी (जसपा) नेपालका तीन मन्त्रीलाई बर्खास्त गरेपछि एमाले सरकारमा सहभागी भएको हो। समिरको शपथ ग्रहण आजै हुने बताइएको छ।

यसअघि मधेश सरकारमा जसपा नेपालबाट भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तथा श्रम तथा यातायात मन्त्री मनिष सुमन रहेका थिए। सत्ता समीकरण फेरबदल हुने संकेतसँगै मुख्यमन्त्री यादवले उनीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए।

तर मन्त्रीहरूले राजीनामा नदिएपछि मुख्यमन्त्रीले उनीहरूलाई पदमुक्त गर्दै नयाँ मन्त्री नियुक्तिको प्रक्रिया अघि बढाएका हुन्।

उता, जनमत पार्टीका दुई मन्त्रीहरूले भने यसअघि नै राजीनामा दिइसकेका छन्। मधेश प्रदेश सरकारमा पछिल्लो राजनीतिक समीकरणअनुसार नयाँ शक्ति सन्तुलन बन्न थालेको देखिएको छ।