कांग्रेसले भन्यो– सुकुम्वासी व्यवस्थापनमा राज्यको क्रुर र अमानवीय कदम

काठमाडौं । नेपाली कांग्रेसले सुकुम्वासी बस्ती हटाउने सरकारको कार्यलाई “क्रूर र अमानवीय” भन्दै कडा आपत्ति जनाएको छ। सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधान र कानुनको पालना नगरी संवेदनशील विषयमा बलपूर्वक निष्कासन गरिएको भन्दै सरकारको कदमको आलोचना गरेको हो।

कांग्रेसले जारी गरेको विज्ञप्तिमा खोला किनाराका सुकुम्वासी बस्ती हटाउने क्रममा नागरिकलाई धम्क्याउने, बल प्रयोग गर्ने तथा गुम्बा, मन्दिर र विद्यालयसमेत भत्काउने कार्यले आफूहरू स्तब्ध भएको उल्लेख छ।
“लोकतान्त्रिक सरकारले आफ्नै कमजोर नागरिकमाथि यस्तो क्रूर व्यवहार गर्न सक्दैन,” कांग्रेसले भनेको छ। साथै संविधानले सुनिश्चित गरेको “सम्मानपूर्वक बाँच्न पाउने अधिकार”को उल्लङ्घन भएको आरोप पनि लगाइएको छ।
कांग्रेसले सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्दा बल प्रयोग होइन, कानुनी र मानवीय प्रक्रिया अपनाउन सरकारलाई आग्रह गरेको छ।

त्यस्तै, विस्थापित नागरिकलाई राखिएको अस्थायी आश्रयस्थल (होल्डिङ सेन्टर) को अवस्था अत्यन्तै कष्टकर रहेको भन्दै त्यसको स्थलगत अध्ययन गर्न विशेष अनुगमन टोली गठन गर्ने निर्णय पनि गरिएको कांग्रेसले जनाएको छ।