सुर्खेत । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले सवारी तथा यातायात व्यवस्था सम्बन्धी नयाँ नियमावली स्वीकृत गरेको छ।
मंगलबार वीरेन्द्रनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले ‘कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२’ स्वीकृत गर्ने निर्णय गरेको हो।
यससँगै बैठकले कालिकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई प्रादेशिक प्राथमिकता आयोजनामा समावेश गर्दै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा अघि बढाउन राष्ट्रिय योजना आयोग मा सिफारिस गर्ने निर्णय गरेको छ।
त्यसैगरी जाजरकोट जिल्लाको ‘वडावन–सानाखोला सडक’ लाई पनि प्रादेशिक प्राथमिकता आयोजनामा राखी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न आयोगमा सिफारिस गर्ने निर्णय गरिएको छ।
प्रदेश सरकारले यी निर्णयहरूले यातायात व्यवस्थापन सुधार तथा दुर्गम क्षेत्रको पूर्वाधार विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
