काठमाडौं । नेपाली कांग्रेसले सुकुम्बासी समस्या बल प्रयोगबाट होइन, दीर्घकालीन र न्यायपूर्ण समाधानमार्फत समाधान गर्न सरकारसँग आग्रह गरेको छ।
शुक्रबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति को बैठकले सुकुम्बासीमाथि बल प्रयोग नगर्न सरकारलाई आग्रह गर्दै यो समस्या समग्र राष्ट्रको साझा विषय भएको स्पष्ट पारेको हो।
बैठकपछि कांग्रेस प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो कुनै एक दल वा समूहको मात्र होइन, समग्र राष्ट्रको साझा समस्या हो, जसको समाधान विधिको शासनको पूर्ण पालना गर्दै खोजिनु अनिवार्य छ।”
कांग्रेसले अदालतका आदेश तथा विगतका संसदीय समितिका निर्णयलाई मार्गदर्शक मान्दै अघि बढ्न सरकारलाई सुझाव दिएको छ। साथै, वास्तविक सुकुम्बासीको पहिचान स्पष्ट रूपमा हुनुपर्नेमा जोड दिइएको छ।
“बल प्रयोगभन्दा अघि समाधानको विवेकपूर्ण, न्यायोचित र मानवीय उपाय अवलम्बन गरिनु आवश्यक छ,” विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसले वास्तविक सुकुम्बासीलाई जग्गा र आवास उपलब्ध गराउनु सरकारको संवैधानिक दायित्व भएको उल्लेख गर्दै, गलत लाभ लिनेहरूमाथि कानुनी कारबाही गर्नुपर्ने पनि बताएको छ।
अहिले सुकुम्बासीमाथि बल प्रयोग गर्न खोजिएको भन्दै कांग्रेसले आपत्ति जनाउँदै संवेदनशील, कानुनी र न्यायपूर्ण दृष्टिकोणका साथ दीर्घकालीन समाधान खोज्न सरकारलाई आग्रह गरेको छ।
