प्रधानन्यायाधीश सिफारिस विवादमा हर्क साम्पाङको आपत्ति : “वरियतामाथि हस्तक्षेप भएको आरोप”

काठमाडौं । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि राजनीतिक विवाद चर्किएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ) ले उक्त सिफारिस प्रक्रियामाथि गम्भीर आपत्ति जनाएका छन्।

बिहीबार बसेको परिषद्को बैठकले सर्वोच्चका चौथो वरियतामा रहेका डा. शर्मालाई प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको थियो। वरियताको आधार मिचिएको भन्दै साम्पाङले यस निर्णयलाई “ठूलो गल्ती” को संज्ञा दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, “वरियतामा चौथोलाई प्रधानन्यायाधीश नियुक्त गर्नु अर्को ठूलो गल्ती हो। यसले विधि र सुशासनमाथि प्रश्न उठाएको छ।”

साम्पाङले सत्तारुढ दल रास्वपामाथि पनि गम्भीर आरोप लगाएका छन्। उनका अनुसार सहकारी ठगी प्रकरण तथा जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दामा आफ्नो पक्षमा निर्णय गराउन राजनीतिक प्रभावका आधारमा नियुक्ति गरिएको हुन सक्ने आशंका देखिएको छ।

“सहकारी ठगी र जेनजी आन्दोलनका विषयमा आफ्नो पक्षमा निर्णय गराउन यस्तो नियुक्ति गरिएको हुनसक्ने आशंका छ,” उनले आरोप लगाएका छन्।

त्यस्तै उनले आफ्नै पार्टीकी उपसभामुख रुबीकुमारी ठाकुरले समेत वरियताको उल्लंघन हुने निर्णयमा सहमति जनाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्। साथै बैठकमा एमसीसी र एसपीपी जस्ता विषय उठाएर दबाब सिर्जना गरिएको दाबी पनि गरेका छन्।

उनका अनुसार संवैधानिक प्रक्रिया, विधि र वरियताको उल्लंघनले न्यायपालिका स्वतन्त्रतामाथि प्रश्न उठाएको छ। यस विषयमा सरकारले भने हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन। तर सिफारिस प्रक्रिया विवादमा परेपछि राजनीतिक वृत्तमा बहस तीव्र बनेको छ।