काठमाडौं । सरकारले प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल र बोर्डको नेतृत्व चयनमा अब पूर्ण रूपमा योग्यता (मेरिट) प्रणाली लागू गर्ने स्पष्ट पारेकाे छ । खुल्ला प्रतिस्पर्धा र ‘मेरिट’का आधारमा मात्रै सक्षम नेतृत्व चयन गर्ने सरकारको स्पष्ट नीति र निर्देशन रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालै जारी गरिएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्थाको अध्यादेशका कारण स्वास्थ्य निकायहरू नेतृत्वविहीन बन्न पुगेका थिए । नेतृत्व नहुँदा बिरामीको उपचार, दैनिक सेवा प्रवाह र प्रशासनिक कार्यमा कुनै पनि अवरोध नआओस् भन्नका लागि मन्त्रालयले तत्काललाई ‘निमित्त’ प्रमुखहरूको नियुक्ति गरेको हो ।
मन्त्रालयका अनुसार निमित्त नियुक्ति केवल अत्यावश्यक काम नरोक्न गरिएको अल्पकालीन व्यवस्था मात्र हो । सरकार स्वास्थ्य क्षेत्रको सुधार र योग्य नेतृत्व चयनमा सम्झौता नगर्ने दिशामा अघि बढेको छ । त्यसैले, छिट्टै नै खुल्ला प्रतिस्पर्धा आह्वान गरी मेरिटका आधारमा पूर्णकालीन नेतृत्व चयन गर्ने तयारी तीव्र पारिएको छ ।
पूर्णकालीन नेतृत्व चयन नहुँदासम्मका लागि मन्त्रालयले निम्न पदाधिकारीहरूलाई संस्थाको कार्यवाहक जिम्मेवारी तोकेको छ :
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान : प्राडा समिता पन्त
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान : डा. नरेन्द्रविक्रम गुरुङ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान : सह प्राडा विनम्र विष्ट
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) : सह प्राडा इन्द्र लिम्बू
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (दाङ) : सह प्राडा सुरेश रसाइली
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर : डा. उमेश नेपाल
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र : सह प्राडा रवीन्द्रभक्त तिमला
स्वास्थ्य बीमा बोर्ड : शकुन्तला प्रजापति
