सरकार वा महाभियोगको त्रासमा नपर्नुहोस् : सपना प्रधान मल्ल

काठमाडौं । सपना प्रधान मल्लले न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षता कायम राख्न सम्पूर्ण न्यायाधीशहरूलाई कुनै पनि डर, दबाब वा प्रलोभनमा नपरी काम गर्न आग्रह गरेकी छन् ।

कानुन दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले न्याय सम्पादनका क्रममा सरकार, शक्ति केन्द्र वा महाभियोगको त्रासबाट प्रभावित नहुन न्यायाधीशहरूलाई आह्वान गरिन् ।

उनले भनिन्, “न्याय सम्पादन गर्दा डर र प्रभावमा पर्नु हुँदैन । चाहे त्यो सरकारको डर होस् वा महाभियोगको, कुनै पनि त्रासबाट मुक्त भई आत्मबलका साथ कानुनको शासन कायम गर्न लाग्नुपर्छ ।”

प्रधान मल्लले चुनौतीपूर्ण परिस्थितिमा पनि संविधानवाद, विधिको शासन र न्यायिक स्वतन्त्रतालाई सर्वोच्च प्राथमिकतामा राख्नुपर्ने बताइन् ।

उनले राज्यका सबै अंगहरूबिच समन्वय, सहकार्य र सद्भाव कायम भए मात्रै लोकतन्त्र सुदृढ हुने उल्लेख गरिन् । कार्यक्रममा विभिन्न संवैधानिक निकायका प्रमुखहरूको सहभागिताले लोकतान्त्रिक अभ्यासलाई थप जीवन्त बनाएको उनको भनाइ थियो ।