आशा जगाउने बजेट आउँछः अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि आशा जगाउने बजेट ल्याइने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रलाई विकासको मुख्य सारथी बनाउने सरकारको योजना रहेको बताए ।

मन्त्री वाग्लेले आर्थिक वृद्धि, रोजगारी सिर्जना र लगानी विस्तारमा निजी क्षेत्रको भूमिका निर्णायक हुने उल्लेख गर्दै मन्त्रिपरिषद्मा निजी क्षेत्रको संरक्षण र प्रवद्र्धनसम्बन्धी रणनीतिक प्रस्ताव पेस गरिएको जानकारी दिए ।

उनले करिब १०० अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन लक्ष्य हासिल गर्न निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताए ।
‘सरकारको स्रोत सीमित छ, तर निजी क्षेत्रको लगानीले नै अर्थतन्त्र विस्तार गर्छ,’ उनले भने ।

सरकारको खर्च कुल गार्हस्थ उत्पादन (जीडिपी) को करिब २५–३० प्रतिशत मात्रै हुने भन्दै बाँकी आर्थिक गतिविधि निजी क्षेत्रबाट सञ्चालन हुने उनले स्पष्ट पारे ।
मन्त्री वाग्लेले आर्थिक प्रगतिमा बाधा पु¥याउने करिब दुई दर्जन ऐन खारेज गर्ने योजना अघि बढाइएको जानकारी दिँदै राजस्व प्रशासन सुधार गरी कर प्रणालीलाई उद्यममैत्री र लगानीमैत्री बनाइने बताए ।
साथै, सामाजिक बजार अर्थतन्त्रको अवधारणा अनुसार नीति अघि बढाउँदै शिक्षा, स्वास्थ्य, यातायात र सामाजिक सुरक्षामार्फत आयको समतामूलक वितरण सुनिश्चित गरिने उनले उल्लेख गरे ।