सरकारी कुरियर सेवा १९ जिल्लामा विस्तार, घरमै सेवा पुर्‍याउने अभ्यास तीव्र

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यसहित सुरु गरेको सरकारी कुरियर सेवा देशका १९ जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागका अनुसार सेवा विस्तारसँगै राहदानी, शैक्षिक प्रमाणपत्र र अन्य सरकारी कागजात घरमै पुर्‍याउने काम पनि तीव्र भएको छ।

गत चैत १३ गते स्वीकृत शासकीय सुधारसम्बन्धी १०० दिने कार्ययोजनाअन्तर्गत हुलाक सेवालाई आधुनिकीकरण गर्दै सरकारी कुरियर सेवामा रूपान्तरण गर्ने लक्ष्य लिइएको थियो। सोहीअनुसार विभिन्न मन्त्रालय र निकायबीच समन्वय गर्दै सेवा विस्तार भइरहेको हो।

हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पँगेनीका अनुसार हालसम्म ३ हजार १३१ राहदानी जिल्लासम्म ढुवानी गरिएको छ, जसमध्ये ६६७ राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण भइसकेको छ। यसले जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता घटाएको विभागको भनाइ छ।

हालसम्म काठमाडौं, झापा, कास्की, मोरङ, गुल्मी, डडेल्धुरा, कालीकोट, बझाङ, सिन्धुपाल्चोक, मकवानपुर, धनकुटा, बैतडीलगायत १९ जिल्लासँग सेवा विस्तारका लागि सम्झौता भइसकेको छ भने अन्य जिल्लामा विस्तारको प्रक्रिया अघि बढाइएको छ।

राहदानीसँगै अन्य सरकारी सेवाहरू पनि हुलाकमार्फत घरमै पुर्‍याउने कार्य विस्तार भइरहेको छ। हालसम्म २६० शैक्षिक प्रमाणपत्र वितरण भइसकेका छन् भने स्वास्थ्य क्षेत्रमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा १४ वटा प्रयोगशाला नमूना ढुवानी गरिएको छ।
यातायात सेवातर्फ पनि उल्लेखनीय प्रगति भएको छ। हालसम्म २ लाख ९६ हजार ५४५ सवारी चालक अनुमतिपत्र सम्बन्धित यातायात कार्यालयमा पठाइसकिएको छ। केही जिल्लामा लाइसेन्स घरमै पुर्‍याउने सेवा समेत सुरु गरिएको छ।

विभागले नेपाल टेलिकमसँग सहकार्य गरी सिमकार्ड घरमै पुर्‍याउने सेवा सुरु गर्ने तयारी गरेको छ। साथै, मध्यपश्चिम विश्वविद्यालयसँग परीक्षा सामग्री ढुवानीको काम अघि बढाइएको छ भने अन्य विश्वविद्यालय र निकायसँग पनि सम्झौता विस्तारको तयारी भइरहेको छ।
प्रणालीगत सुधारतर्फ राहदानी विभागसँग प्रणाली अन्तरआवद्धता, महालेखा नियन्त्रक कार्यालयसँग प्रणाली एकीकरण र पोस्टल ट्र्याकिङ सिस्टम (PITS) स्तरोन्नति गर्ने काम अघि बढाइएको विभागले जनाएको छ।