काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई संख्याको दम्भ प्रदर्शन नगर्न चेतावनी दिएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लोकतन्त्रमा जनमत र संख्या सधैं स्थिर नहुने भएकाले त्यसको जिम्मेवार उपयोग गर्न रास्वपा नेतृत्वलाई आग्रह गरे।
प्रचण्डले आफ्नो राजनीतिक अनुभव स्मरण गर्दै “जीत पचाउन गाह्रो हुने” बताएका थिए। उनले पूर्वमा आफू नेतृत्वको दल पनि संसद्मा ठूलो हैसियतमा रहेको तर आन्तरिक कमजोरीका कारण जनविश्वास गुमेको उदाहरण प्रस्तुत गरे।
उनले वर्तमान संसद्मा रास्वपासँग ठूलो संख्यात्मक शक्ति रहेको संकेत गर्दै त्यसलाई “जनताको ठूलो जिम्मेवारी” का रूपमा लिन सुझाव दिए। “संख्या कहिल्यै स्थायी हुँदैन, जनताको समर्थन पनि सर्तरहित हुँदैन,” उनले भने।
प्रचण्डले विपक्षी दलका रूपमा आफूहरू रास्वपाको कमजोरीको प्रतीक्षामा नरहेको स्पष्ट पार्दै जनताको जिम्मेवारी पूरा गर्न साथ र समर्थन रहने बताए। उनले राष्ट्र निर्माणका लागि सहकार्य र सहमतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
साथै उनले संसद् लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै निषेध र प्रतिशोधभन्दा सहमति र विश्वास आवश्यक रहेको बताए।
भू-राजनीतिक संवेदनशीलताबारे बोल्दै प्रचण्डले नेपालका प्राकृतिक स्रोतसाधन—युरेनियमजस्ता बहुमूल्य खनिजसमेत—मा बाह्य शक्ति केन्द्रहरूको चासो बढ्न सक्ने भन्दै राष्ट्रिय एकताको आवश्यकता औंल्याए। उनले राष्ट्रिय स्वाधीनता, आत्मसम्मान र स्रोतसाधनको संरक्षणका लागि सबै देशभक्त नेपाली एकजुट हुनुपर्ने बताए।
