नीति तथा कार्यक्रम पुरानै दस्ताबेजको प्रतिलिपि जस्तै : सांसद शाही

काठमाडौं । प्रतिनिधिसभामा बोल्दै सांसद ज्ञानेन्द्र शाहीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पुरानै दस्ताबेजको प्रतिलिपि जस्तै भएको आरोप लगाएका छन्। उनले सरकारले सार्वजनिक गरेको हालको नीति तथा कार्यक्रम र २०८१ सालको नीति तथा कार्यक्रमबीच धेरै बुँदाहरू मिल्दोजुल्दो रहेको भन्दै सदनमै तुलना प्रस्तुत गरे। उनका अनुसार दुवै दस्ताबेजको संरचना र विषयवस्तुमा उल्लेख्य परिवर्तन देखिँदैन।

शाहीका अनुसार २०८१ सालको नीति तथा कार्यक्रममा २१७ बुँदा रहेको र पछिल्लो संस्करणमा १०० बुँदा भए पनि अधिकांश विषय समान छन्। केही शब्द तथा वाक्यांश मात्र परिवर्तन गरिएको तर मूल आशय यथावत् रहेको उनको दाबी छ।
उनले दुई फरक वर्षका नीति तथा कार्यक्रम एउटै शैली र ढाँचामा तयार गरिएको भन्दै आलोचना गरे।

नयाँ नेतृत्व र नयाँ पुस्ताको अपेक्षाअनुसार ठोस नीतिगत परिवर्तन आउनुपर्नेमा पुरानै दस्ताबेज दोहोरिएको उनको भनाइ थियो। शाहीले दस्ताबेजमा केही साना परिवर्तन भए पनि मूल संरचना र विषयवस्तुमा नवीनता नदेखिएको जिकिर गरेका छन्।