काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकअघि पार्टीका विभागीय प्रमुख र संगठन इन्चार्जहरूको विस्तृत प्रस्तावित सूची तयार गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीले सोमबार बसेको सचिवालय बैठकमा उक्त प्रस्ताव पेश गरेका थिए। यसबारे अन्तिम निर्णय शुक्रबार बस्ने सचिवालय बैठकले गर्नेछ।
प्रस्तावअनुसार पूर्व उपप्रधानमन्त्री रामबहादुर थापा ‘बादल’लाई सुशासन तथा सेवा प्रवाहसँग सम्बन्धित विभागहरूको संयोजन गर्ने जिम्मेवारी दिने उल्लेख छ। उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पार्टीसम्बद्ध विभागहरू, पृथ्वीसुब्बा गुरुङलाई सामाजिक विकास, गोकर्ण विष्टलाई पूर्वाधार विकास र रघुजी पन्तलाई मानवस्रोत विकास सम्बन्धी विभागहरूको संयोजनको जिम्मेवारी प्रस्ताव गरिएको छ।
महासचिव शंकर पोखरेललाई संगठनात्मक कामको समन्वय तथा केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी दिने प्रस्ताव छ। उपमहासचिव लेखराज भट्टलाई नीति तथा योजना विभाग प्रमुख, रघुवीर महासेठलाई कृषि तथा उद्यमशीलता, र योगेश भट्टराईलाई नीति तथा योजना सम्बन्धी विभागहरूको संयोजनको जिम्मेवारी प्रस्ताव गरिएको छ।
सचिव तहमा पनि प्रदेश इन्चार्जहरूको प्रस्ताव गरिएको छ। छविलाल विश्वकर्मा लुम्बिनी, खगराज अधिकारी गण्डकी, यमलाल कँडेल कर्णाली, शेरधन राई कोसी र महेश बस्नेत बागमती प्रदेश इन्चार्जका रूपमा प्रस्तावित छन्। भानुभक्त ढकाललाई संगठन विभाग प्रमुख र राजन भट्टराईलाई राजधानी विशेष प्रदेश इन्चार्जको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।
विभिन्न केन्द्रीय सदस्यहरूलाई पनि विभागीय जिम्मेवारी तोकिएको छ। ऊर्जा, कृषि, पर्यटन, प्रचार, कानुन, सहकारी, उद्योग, विज्ञान–प्रविधि, वन तथा वातावरण, भौतिक पूर्वाधार, श्रम, शिक्षा लगायतका क्षेत्रमा नयाँ जिम्मेवारी प्रस्ताव गरिएको छ।
त्यसैगरी युवा, विद्यार्थी, महिला, मजदुर, किसान, प्रवासी, अपांगता, मानवअधिकार तथा अन्य जनसंगठनात्मक फाँटहरूमा पनि इन्चार्ज तोक्ने प्रस्ताव गरिएको छ।
यसअघि सोमबारको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको थियो। प्रस्तावित कार्यविभाजनमा शुक्रबार अन्तिम निर्णय हुने अपेक्षा गरिएको छ।
