काठमाडौँ, ४ असोज । नेपालले भदौ महिनामा बिजुली बेचेर पाँच अर्बभन्दा बढी कमाएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार भदौ महिनामा ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात गरेर ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ आम्दानी गरेको हो ।
प्राधिकरणको प्रणाली संचालन विभाग ९भार प्रेषण केन्द्र –(एलडिसी) स्युचाटारले सार्वजनिक गरेको भदौ महिनामा भएको विद्युत् निर्यातको विवरणअनुसार द्विपक्षीय सम्झौतामार्फत भारतको हरियाणा तथा बिहार राज्यसँगै बंगलादेशमा र विद्युत् बजारमार्फत गरी दुई माध्यमबाट विद्युत् निर्यात गरेको हो ।
द्विपक्षीय सम्झौताअनुसार ४२ करोड १६ लाख २१ हजार २८८ युनिट निर्यात गरेर ३ अर्ब ६४ करोड २५ लाख २८ हजार २ सय ९९ रुपैयाँ आम्दानी गरेको छ भने विद्युत् बजारतर्फ १४ करोड ३९ लाख ८५ हजार १५५ युनिट निर्यात गरेर १ अर्ब ४४ करोड ९९ लाख ३२ हजार ९ सय ८३ रुपैयाँ आम्दानी गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणकाअनुसार भोटेकोशीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रको संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत् निर्यात बन्द रहेको छ । अन्य जलविद्युत् केन्द्रबाट बंगलादेशतर्फ विद्युत् निर्यात सुचारु गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षलाई अनुरोधसमेत गरिसकिएको प्राधिकरणले जनाएको छ ।
