काठमाडौं, ४ असोज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । अमेरिकी सञ्चारमाध्यम ‘ग्रे जोन’ ले नेपालमा भएको जेन-जी आन्दोलनबारे सार्वजनिक गरेको रिपोर्टलाई सामाजिक सञ्जालमा फैलाएको आरोपमा उनी पक्राउ परेका हुन् ।
राजनीतिक विमर्शसम्बन्धी कार्यक्रमका निम्ति असोज २ गते मोरङ पुगेका विश्लेषक दाहाल आज आइतबार मोरङको सुन्दरहरैचा-८, सलकपुरस्थित गौरी ढकालको चिया पसलबाट पक्राउ परेका हुन् ।
शक्ति केन्द्रको निरन्तर दबाबपछि प्रहरीको साइबर ब्यूरोले काठमाडौं जिल्ला अदालतमा पक्राउ अनुमति माग गरेको थियो । ब्यूरो स्रोतका अनुसार अदालतबाट पक्राउ अनुमति शुक्रबार नै आएको थियो । कार्यक्रम सिध्याएर उनी आजै विराटनगरबाट काठमाडौं फर्किने तयारीमा थिए । तर, दबाबमा परेको प्रहरीले आइतबार बिहान चिया पिउने ठाउँमै पुगेर उनलाई पक्राउ गरेको हो ।
दाहालले सेप्टेम्बर १२ (भदौ २७ गते) ‘अमेरिकी पत्रिकामा अर्को विस्फोट’ शीर्षक राखेर ‘द ग्रे जोन’मा प्रकाशित सामग्री सामाजिक सञ्जालमा शेयर गरेका थिए । उक्त सामग्रीमा नेपालका केही नयाँ राजनीतिक नेतृत्व, अभियन्ता तथा सार्वजनिक व्यक्तित्वको अमेरिकी सहयोगमा सञ्चालित विभिन्न संस्था तथा परियोजनासँग सम्बन्ध रहेको दाबी गरिएको थियो । ती दाबी तथा कागजातको स्वतन्त्र पुष्टि भएको वा नभएको विषय भने छुट्टै प्रश्नका रूपमा रहेको छ ।
दाहालले उक्त सामग्री शेयर गर्नुअघि पनि सरकार, सत्ता सञ्चालन तथा समसामयिक राजनीतिक विषयमा सामाजिक सञ्जालमार्फत निरन्तर टिप्पणी गर्दै आएका थिए । उनको पक्राउपछि कतिपय समर्थक तथा सहकर्मीले यसलाई राजनीतिक अभिव्यक्तिमाथिको कारबाहीका रूपमा व्याख्या गरेका छन् । उनीहरूले राज्यका निकायको दुरुपयोग भएको आरोपसमेत लगाएका छन् । यद्यपि, प्रहरीले भने पक्राउ राजनीतिक विचारका कारण नभई साइबर ब्युरोमा परेको उजुरी र अदालतबाट प्राप्त पक्राउ अनुमतिका आधारमा गरिएको जनाएको छ ।
दाहालमाथि लागेको वास्तविक आरोप के हो, उनले शेयर गरेको सामग्रीको कुन अंशलाई साइबर अपराध मानिएको हो र अदालतबाट पक्राउ अनुमति लिन प्रहरीसमक्ष प्रस्तुत गरिएको आधार के थियो भन्ने विषय अझै स्पष्ट हुन बाँकी छ ।
