काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले आइतबार बिहानदेखि वीरगञ्जमा मुख्य सडक अतिक्रमण गरी निर्माण गरिएका घरटहरा भत्काउन सुरु गरेको छ।
त्रिभुवन राजपथअन्तर्गत गण्डकचोकदेखि मितेरीपुलसम्मको सडक क्षेत्रमा दायाँ–बायाँ २५–२५ मिटर विस्तार गर्ने योजनाअनुसार अतिक्रमित संरचना हटाउन थालिएको हो।
सडक डिभिजन कार्यालयका अनुसार बिहान ५ बजेदेखि करिब एक दर्जन एक्जाभेटर प्रयोग गरी संरचना भत्काउने काम भइरहेको छ। समग्रमा करिब १ हजार २०० घरटहरा हटाइने जनाइएको छ।
कार्यालयका इन्जिनियर भोला साहका अनुसार सर्वोच्च अदालतको फैसला र सङ्घीय सरकारको निर्देशनअनुसार अभियान अघि बढाइएको हो। उनले पटक–पटक सूचना जारी गर्दा पनि अटेर भएपछि बाध्य भएर संरचना हटाउन थालिएको बताए।
यसैबीच, घरधनी तथा व्यापारीहरूले भने अत्यन्तै छोटो समय दिएर घर खाली गर्न निर्देशन दिइएकाले समस्या भएको गुनासो गरेका छन्। उनीहरूले कम्तीमा एक साताको समय दिएको भए सहज हुने बताएका छन्।
वीरगञ्ज महानगरका नगर प्रहरी प्रमुख हरि भुसालका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको कडा सुरक्षामा संरचना हटाउने काम भइरहेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साँझ सूचना जारी गर्दै बिहान ४:३० बजेसम्म संरचना हटाउन निर्देशन दिएको थियो।
सडक विस्तारका क्रममा मुख्य सडक क्षेत्रमा बिजुली तथा इन्टरनेट सेवा केही समय अवरुद्ध भएको जनाइएको छ।

