इरान शान्ति र स्थिरताका पक्षमा प्रतिबद्ध : राष्ट्रपति पेजेशकियान

तेहरान । इरानका राष्ट्रपति मसुद पेजेशकियानले आफ्नो देश युद्धको पक्षमा नरहेको र अहिले आत्मरक्षाका कदम मात्र उठाइरहेको बताएका छन्। उनले अमेरिका र इजरायलका हमलाप्रति कडा विरोध जनाउँदै इरान क्षेत्रीय शान्ति र स्थायित्वका लागि प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

राष्ट्रपति पेजेशकियानले अमेरिका र इजरायलले नागरिक संरचनालाई निशाना बनाएको आरोप लगाउँदै यसले अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन गरेको बताए। साथै, इरानका सन्दर्भमा मानवअधिकारको दोहोरो मापदण्ड अपनाइएको पनि आरोप लगाए।

उनले भने, “हामीले कुनै देशमाथि हमला गरेका छैनौँ र अहिले पनि हाम्रो उद्देश्य हमला गर्नु होइन। हामी केवल वैध तरिकाले आफ्नो रक्षा गरिरहेका छौँ।”

यसैबीच, इरानी संसदका अध्यक्ष तथा मुख्य वार्ताकार मोहम्मद बाघेर गालिबाफले पनि इरानले स्थायी शान्ति चाहेको बताएका छन्। उनले अमेरिकाप्रति विश्वासको कमी रहेको उल्लेख गर्दै दीर्घकालीन शान्ति कायम गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले इरानको उद्देश्य युद्ध रोक्नु र स्थायी शान्तिको वातावरण निर्माण गर्नु रहेको बताएका छन्।