वैदेशिक रोजगारी विज्ञापनमा अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा श्रमिक पठाउने संस्थाहरूका लागि नयाँ व्यवस्था लागू गरेको छ। अब इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीहरूले श्रमिक मागपत्रमा पूर्वस्वीकृति आवेदन गर्दा अनिवार्य रूपमा सम्पर्क व्यक्तिको नाम, फोन नम्बर र ठेगाना खुलाउनुपर्ने भएको छ।

विभागले जारी गरेको सूचनाअनुसार, वैदेशिक रोजगारीका लागि श्रमिक माग गर्दा राष्ट्रियस्तरका दैनिक पत्रिकामा विज्ञापन प्रकाशित गर्नुपर्ने र त्यसको विवरण विभागमा बुझाउनुपर्ने व्यवस्था पुनः कडाइका साथ लागू गरिएको छ।

यसरी प्रकाशित हुने विज्ञापनमा संस्थाको आधिकारिक सम्पर्क व्यक्ति, सम्पर्क नम्बर र स्थान स्पष्ट उल्लेख हुनुपर्ने भए पनि पछिल्लो समय धेरै आवेदकले सम्पर्क गर्न नसकेको गुनासो आएपछि विभागले ध्यानाकर्षण जनाएको हो।

विभागका अनुसार अपूर्ण वा अस्पष्ट विवरण राख्ने संस्थामाथि आवश्यक कारबाही गरिनेछ। यस कदमले वैदेशिक रोजगारी प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।