काठमाडौं । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरका कारण हुने महिलाको अकाल मृत्यु रोक्न आफूले अघि बढाएको कार्यक्रमलाई थप परिष्कृत रूपमा निरन्तरता दिन सरकारसँग आग्रह गरेका छन्।
मातातीर्थ औंसीको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले निःशुल्क क्यान्सर स्क्रिनिङ कार्यक्रमको स्मरण गरेका हुन्। समयमै परीक्षण नहुँदा धेरै महिला ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न मन्त्रालय रहँदा यो कार्यक्रम सुरु गरिएको उनले उल्लेख गरेका छन्।
उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा रहँदा एचपीभी खोप अभियान र देशव्यापी पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ कार्यक्रम सुरु गरिएको थियो, जसको उद्देश्य महिलामा हुने क्यान्सरजन्य मृत्यु घटाउनु रहेको थियो।
पूर्वमन्त्री पौडेलले महिलाको स्वास्थ्यलाई अझै पनि दोस्रो प्राथमिकतामा राखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले यो कार्यक्रमलाई सरकारको प्राथमिकतामा राखेर प्रभावकारी रूपमा अघि बढाउनुपर्ने सुझाव पनि दिएका छन्।
“स्वस्थ महिलाबाटै स्वस्थ परिवार र समुन्नत राष्ट्र निर्माण सम्भव छ,” उनले सन्देशमा उल्लेख गरेका छन्।
