काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि सातामा दुई दिन ओपिडी सेवा बन्द गर्ने योजना अघि बढाएको छ। स्वास्थ्यकर्मीहरूको चर्को दबाबपछि बिहीबार स्वास्थ्यमन्त्रीस्तरीय बैठकमा सातामा दुई दिन बिदा दिने विषयमा सहमति जुटेको हो। तर कुन–कुन दिन बिदा दिने भन्नेबारे अन्तिम निर्णय भने नभएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशभरका सरकारी अस्पतालहरूमा अब हप्तामा दुई दिन ओपिडी सेवा बन्द हुने भए पनि आइतबार र शनिबार लगातार बिदा दिने निर्णय भने भएको छैन। उनका अनुसार कुन–कुन बार बिदा गर्ने भन्ने विषयमा शुक्रबार अन्तिम निर्णय हुनेछ।
मन्त्रालयले बिदाका दिन पनि आकस्मिक सेवा तथा अन्तरंग सेवा भने २४ सै घण्टा सञ्चालन हुने स्पष्ट पारेको छ। अस्पताल सुधार कार्यविधि, २०८२ लाई असर नपर्ने गरी बिदा व्यवस्था मिलाइने पनि मन्त्रालयले जनाएको छ।
