काठमाडौं । सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ। यससँगै कर्मचारीहरूले महिनाभरि कुर्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ।
अर्थ मन्त्रालयले गत शुक्रबार महालेखा नियन्त्रक कार्यालय लाई पत्राचार गर्दै नयाँ व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएको हो। यसअघि कर्मचारीहरूलाई तलबभत्ता महिना समाप्त भएपछि मात्र मासिक रूपमा भुक्तानी हुँदै आएको थियो।
मन्त्रालयका अनुसार कर्मचारीहरूको आर्थिक व्यवस्थापनलाई सहज बनाउन अर्धमासिक भुक्तानी प्रणाली लागू गरिएको हो। अर्थमन्त्रीस्तरीय निर्णयमार्फत लागू गरिएको यो व्यवस्थाअनुसार अब प्रत्येक १५ दिनमा कर्मचारीहरूले तलब र भत्ता पाउनेछन्।
डा. सुमन दाहालले हस्ताक्षर गरेको पत्रमा हालसम्म मासिक रूपमा हुँदै आएको तलब वितरण प्रणालीलाई परिमार्जन गरी अर्धमासिक रूपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ।
अब महालेखा नियन्त्रक कार्यालय ले यस प्रणाली कार्यान्वयनका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अघि बढाउनेछ। नयाँ व्यवस्था लागू भएसँगै नेपालको निजामती सेवामा तलब वितरणको अभ्यासमा नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।
